काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय महाधिवेशन सचिवालयको विस्तारित बैठक आज बस्दै छ ।
बैठक ललितपुरको कुपोन्डोलमा बिहान ११ बजे बस्न लागेको हो । प्रलोपा अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा बस्ने बैठकका लागि ९ एजेन्डा तय गरिएको छ ।
बैठकमा सहिदहरूप्रति सम्मान, सम्झना र संकल्प व्यक्त गरिने एजेन्डाकासाथै पछिल्लो नेपाली राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीको आगामी कार्यभार तय गरिनेछ ।
त्यसैगरी, पार्टी संगठनसम्बन्धी विशेष प्रस्ताव, प्रलोपाको पहिलो एकता महाधिवेशनको तयारी, संगठन निर्माण, सदस्यता वितरण र महाधिवेशन प्रतिनिधि छनोटका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकले प्रदेश र जिल्ला तहमा पार्टी प्रशिक्षण सञ्चालन गर्ने, महाधिवेशन आयोजक समितिमा सदस्यहरू थप गर्ने र विचार मिल्ने वामपन्थी, समाजवादी-लोकतान्त्रिक शक्ति तथा समूहहरूसँग संवाद, एकता र ध्रुवीकरणका लागि एक संवाद समिति निर्माण गर्ने एजेन्डा राखेको छ । यसका साथै विविध अन्तर्गत आगामी अभियान सञ्चालनका विषयमा समेत आजै छलफल हुने बताइएको छ ।