Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिलाको नेतृत्व र क्षमता नै समृद्ध नेपालको आधार : राष्ट्रपति पौडेल

महिलाको नेतृत्व र क्षमता नै समृद्ध नेपालको आधार : राष्ट्रपति पौडेल

शनिवार , जेठ १६, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गर्दै समृद्ध र दिगो नेपाल निर्माण गर्नुपर्ने बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक तथा सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका हुन्।

‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नारासहित मनाइँदै गरिएको दिवसका अवसरमा उनले घर, समाज, कार्यस्थल तथा निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्य र नागरिक समाजबीच सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रपति पौडेलले महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै लैङ्गिक समानता कायम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासलाई यो दिवसले थप ऊर्जा र सम्मान प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसँग सम्बन्धित चार महत्वपूर्ण विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको छ।

राष्ट्रपति पौडेलले सरकारले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकासको मूलप्रवाहमा समाहित गर्दै आत्मनिर्भर बनाउने नीति कार्यान्वयन गरिरहेको उल्लेख गरेका छन्।

उनले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा नेपाली महिलाले उल्लेखनीय सफलता हासिल गरेको पनि बताएका छन्।

उनले सामाजिक सोच, शैली, प्रथा र परम्परामा सकारात्मक परिवर्तन ल्याएर महिलाको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले महिला अधिकार दिवसले लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077