काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल भएको छ ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी जानकारी गराएका हुन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार भेटवार्ताका क्रममा मन्त्री वाग्लेले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको तयारी अन्तिम चरणमा पुगेको बेला राष्ट्रपति र अर्थमन्त्रीबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अर्थमन्त्री वाग्लेले शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।