Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'ग्यालेक्सी फोरके' टेलिभिजनलाई १५ दिने अन्तिम चेतावनी, सामान नउठाए लिलाम हुने

'ग्यालेक्सी फोरके' टेलिभिजनलाई १५ दिने अन्तिम चेतावनी, सामान नउठाए लिलाम हुने

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित 'ग्यालेक्सी फोरके' टेलिभिजनलाई आफ्नो सामान उठाउन र घरधनीलाई बुझाउनुपर्ने बाँकी बहाल रकम तिर्न १५ दिने अन्तिम चेतावनी दिएको छ ।

महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सरसामान नहटाइए कानुनअनुसार लिलाम प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ३ का घरधनी मृगेन्द्र प्रसाद मिश्रले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईविरुद्ध घरजग्गा खाली गराइदिनुका साथै बाँकी भाडा असुल गरिपाऊँ भन्दै दायर गरेको मुद्दा यसअघि महानगरको न्यायिक समितिमा पुगेको थियो। समितिले २०८१ कात्तिक १४ गते घर खाली गराउने र बाँकी भाडा तथा करसमेत असुल गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो। त्यसपछि २०८२ कात्तिक १४ गते महानगरको टोलीले सम्बन्धित घरजग्गा खाली गराएको थियो।

तर घर खाली गराएको करिब ६ महिना बितिसक्दा पनि ग्यालेक्सी ४के टेलिभिजनका सामानहरू अझै सोही स्थानमै रहेको महानगरले जनाएको छ।

घरधनी मृगेन्द्र मिश्रले गत २०८१ वैशाख २१ गते ती सामान लिलाम गर्न माग गर्दै महानगरमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अब १५ दिने अन्तिम सूचना जारी गरिएको हो।

सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसामान लैजान अन्तिम सूचना जारी गरिएको छ।”

महानगरका अनुसार तोकिएको समयभित्र सामान नउठाइए ‘काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ को दफा ७० अनुसार ती सामान लिलाम गरिनेछ।

सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राई हाल फरार रहेका छन् भने उनी अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क अन्तर्गतको ग्यालेक्सी ४के टेलिभिजन हाल बन्द अवस्थामा रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077