एजेन्सी । करिब तीन महिनादेखि विश्वव्यापी इन्टरनेट सञ्जालबाट लगभग अलग बनेको इरानमा अन्ततः डिजिटल ब्ल्याकआउट अन्त्य हुने भएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले देशभर अन्तर्राष्ट्रिय इन्टरनेट पहुँच पुनः सञ्चालन गर्न आदेश दिएका छन् ।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार ८७ दिनदेखि लागू कडा इन्टरनेट प्रतिबन्ध हटाउने निर्णय बहुमतका आधारमा पारित गरिएको हो । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट ‘फार्स न्युज एजेन्सी’का अनुसार सोमबार बसेको बैठकमा इन्टरनेट सेवा पुनर्बहालीसम्बन्धी प्रस्ताव पक्षमा ९ र विपक्षमा ३ मतसहित स्वीकृत भएको थियो ।
इरानमा लामो समयदेखि जारी विरोध प्रदर्शन, क्षेत्रीय तनाव तथा साइबर सुरक्षासम्बन्धी चुनौतीका कारण सरकारले विश्वव्यापी इन्टरनेट पहुँचमा कडा नियन्त्रण लगाएको थियो ।
विशेषगरी फेब्रुअरी २८ पछि अमेरिका–इजरायलसँगको तनाव चुलिँदै गएपछि अधिकांश डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा अनलाइन सेवाहरू सर्वसाधारणका लागि लगभग बन्दजस्तै बनेका थिए ।
यो प्रतिबन्धका कारण व्यापार, बैंकिङ, शिक्षा, सञ्चार र डिजिटल सेवामा व्यापक असर परेको थियो ।