धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान केन्द्रीय नेतृत्व ठीक ढंगले चल्न नसकेको बताएका छन् ।
आइतबार कैलालीको धनगढीमा सुरु भएको एकता र पुनर्जागरण भेलालाई सम्बोधन गर्दै सभापति बलायरले यस्तो बताएका हुन् ।
'सर्वोच्च अदालतको फैसलापछि नेतृत्व मान्दैनँ भन्न पनि छोडेका छौँ । तर, तिम्रा ढंगले कांग्रेस उँभो लाग्दैन,' उनले भनेका छन् ।
बलायरले सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै नयाँ भनाउँदा नेताहरूले पार्टीको जग र बलिदान नबुझेको भन्दै कडा चेतावनी दिए।
'हामी शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेका हौँ। जरा उखेल्नेहरूलाई हामीले हेरेर बस्दैनौँ। हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फ्यात्त फालिदिन्छौँ । कांग्रेस कमजोर भएको दिन देशको राष्ट्रियता संकटमा पर्छ। त्यसैले हामीले कांग्रेसलाई सिद्ध्याउने खेलविरुद्ध उभिनु परेको हो,' बलायरले आक्रोशित हुँदै भनेका छन्।
सभापति गगनकुमार थापाले कांग्रेस लास र दासको पार्टी नभएको भन्दै उठाएको प्रसंग निकाल्दै बलायरले आफूहरू अनुदानको राजनीतिबाट नपलाएको बताए ।
नेपाली कांग्रेसको देउवा पक्षीय प्रदेशस्तरीय भेला सुदूरपश्चिमको धनगढीमा जारी छ ।
प्रदेश सभापति बलायरको अध्यक्षतामा भइरहेको भेलामा निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद, पूर्वमन्त्री रमेश लेखक, मोहनबहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलगायत सहभागि छन्।
भेलामा पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू भेलामा सहभागी छैनन् ।