काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित एक युवकलाई पक्राउ गरेको छ।
अवैध रूपमा हतियार राखेको अभियोगमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६ बस्दै आएका २३ वर्षीय सन्दिप परियार लाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोठाटार क्षेत्रमा बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा ४ ख ५२४१ नम्बरको गाडीमा खानतलासी गर्ने क्रममा सिटमुनि लुकाइ–छिपाइ राखिएको १ थान पेस्तोल र सोको १ थान म्याग्जिन बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा गरिएको निगरानीपछि प्रहरीले उक्त हतियार फेला पारेको जनाएको छ।
पक्राउ परेका परियारलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रहरीले परियारको आपराधिक पृष्ठभूमि, हतियारको स्रोत तथा कुन प्रयोजनका लागि लुकाएर राखिएको थियो भन्ने विषयमा सूक्ष्म अनुसन्धान अगाडि बढाइएको जनाएको छ।