काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे ।
उनले भने–‘हामीले बारम्बार प्रश्न उठाएका छौँ, हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ । सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोतलगायतको महत्वपूर्ण विषयमा हामीले थुप्रै प्रश्न राख्न खोजेका छौँ ।’
उनले आफूहरूले सुकुमबासी व्यवस्थापनसँग सम्बन्धित प्रश्न गर्न चाहेको बताए ।
उनले भने–‘सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने, हाम्रो नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ। यहाँले कडा तरिकाले रुलिङ गर्नुपर्छ। कर्तव्यदेखि भाग्ने उहाँहरूको चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ ।’
यसैबीच, तीनदिन देखि संसद बैठकमै पर्चा देखाएर विरोध गर्र्दै आएका साम्पाङ र उनको पार्टीलाई सभामुख डिपी अर्यालले चेतावनी समेत दिएका छन् । श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्डसहित विरोध जनाएपछि सभामुख अर्यालले ‘अभद्र व्यवहार’ नदेखाउन चेतावनी दिएका हुन् ।
श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको बताए ।
उनले सभाको मर्यादा कायम राख्न आग्रह गरे । हर्क साम्पाङसहित श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखले आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।