काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम सांसद् हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद् साम्पाङले सभामुख डोलप्रसाद अर्यालसंग समय मागेका थिए ।
जारी बैठकमा अध्यक्ष साम्पाङले उठेर विरोध जनाउँदै समय मागेपछि सभामुखले, ‘के समय हो ? आकस्मिक समय हो कि, शून्य समय हो कि ? विशेष समय हो कि ?’ भनेर सोधेका थिए ।
फेरी साम्पाङले ‘आकस्मिक समय’ भनेका थिए । तर, सभामुखले ‘के विषयमा आकस्मिक समय ?’ प्रश्न गर्दै फेरि बस्न भनेका थिए ।
त्यसपछि सभामुख अर्यालले बोल्न समय नदिएपछि बैठक साम्पाङ छाडेर हिँडेका हुन् ।
साम्पाङले प्रतिपक्षलाई बोल्न पनि तीन मिनेट समय मात्रै दिइएको आरोप समेत लगाएका छन् ।
साम्पाङले भने- 'बोल्ने कुरामा पनि हामीलाई सीमित पारिएको छ । जहिले पनि तीन मिनेट समय दिइन्छ।'
यसअघि वैशाख ३१ गतेको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआएको भन्दै श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको थियो । पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका ७ जना सांसदहरू बैठक छोडेर हिँडेका थिए ।