एजेन्सी । इस्लामिक सहयोग संगठन (ओआईसी) ले संयुक्त अरब इमिरेट्स स्थित बराकाह आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ ।
ओआईसीका महासचिवद्वारा जारी विज्ञप्तिमा नागरिक प्रतिष्ठान तथा संवेदनशील पूर्वाधारलाई लक्षित गरी गरिएको हमला अन्तर्राष्ट्रिय कानुनको “ठाडो उल्लंघन” भएको उल्लेख गरिएको छ ।
संगठनले यूएईप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै देशको सुरक्षा, स्थिरता र राष्ट्रिय हितको रक्षाका लागि चालिएका सबै कदमलाई समर्थन गर्ने जनाएको छ।
अबुधाबीस्थित बराकाह आणविक ऊर्जा केन्द्र मा आइतबार राति ड्रोन हमला भएको थियो। आक्रमणपछि पावर प्लान्ट नजिकै रहेको विद्युत् जेनेरेटरमा आगलागी भएको भए पनि सुरक्षाकर्मीहरूले केही समयमै आगो नियन्त्रणमा लिएका थिए।
घटनामा कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्। तर मध्यपूर्वकै सबैभन्दा संवेदनशील ऊर्जा पूर्वाधारमध्ये एकमा भएको आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता पैदा गरेको छ।
हालसम्म कुनै पनि समूह वा राष्ट्रले हमलाको जिम्मेवारी लिएको छैन। यद्यपि पछिल्ला हप्ताहरूमा इरान ले यूएईप्रति बारम्बार चेतावनीपूर्ण अभिव्यक्ति दिँदै आएको सन्दर्भमा शंकाको केन्द्र तेहरानतर्फ मोडिएको छ।