काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पङ्क्तिलाई आफ्ना तर्फबाट भएका त्रुटि र कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष प्रस्तुत हुन आग्रह गरेका छन् ।
बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो भनेका हुन् ।
उपाध्यक्ष पौडेलले भने- 'यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोडमा आइपुगेको छ । हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको बहुदलीय जनवादबाट ठीक ढङ्गले निर्देशित हुन सक्यौँ वा सकेनौँ भनेर वस्तुनिष्ठ समीक्षा गरौँ ।'
जनताको बहुदलीय जनवादको मर्मलाई ठीक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष प्रस्तुत हुनुपर्ने बताए ।
साथै उनले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनःस्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।