प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीमाथि तीव्र राजनीतिक आक्रमण गर्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।
पार्टी अध्यक्ष साम्पाङले सरकारको कार्यशैली लोकतन्त्रको मर्मविपरीत गएको आरोप लगाउँदै २३ बुँदे आधार प्रस्तुत गरेका हुन् ।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले सीमा सुरक्षामा सरकार असफल भएको, नेपाली सेनाको दुरुपयोग गरिएको, संसद्लाई कमजोर बनाउने गरी अध्यादेशमार्फत शासन चलाइएको तथा न्यायपालिकामा वरिष्ठता मिचिएको आरोप लगाए।
उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, 'सीमा रक्षामा सरकार चुकेको छ। नेपाली सेनालाई प्राकृतिक विपत्ति वा राष्ट्रिय संकटमा प्रयोग गर्नुपर्ने हो, तर अहिले सुकुम्बासी बस्तीमा लगत संकलन र नियन्त्रणका काममा उतारिएको छ, जुन गलत अभ्यास हो।'
साम्पाङले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिलाई लोकतन्त्रविरोधी कदमको संज्ञा दिए। “संसद् नै लोकतन्त्रको केन्द्र हो। संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको लोकतान्त्रिक विधि अस्वीकार गर्नु हो,” उनले भने, “छिटो निर्णय गर्ने नाममा विधि मिच्न पाइँदैन। गलत बाटोबाट छिटो काम गर्नु लोकतन्त्र होइन।”
न्यायपालिकाको पछिल्लो नियुक्ति प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषय उठाउँदै उनले सरकारमाथि न्यायालयलाई विवादमा तानेको आरोप लगाए। 'सरकारले विधि मान्नुपर्ने हो, तर यहाँ त विधि नै तोड्ने काम भइरहेको छ,' साम्पाङको भनाइ थियो।
राष्ट्रपति र उपसभामुखलाई सम्बोधन गरेको विषयमा उठेको विवादबारे उनले संसद्भित्र र बाहिरको भाषाशैली फरक हुने बताए। “संसद्भित्र सम्मानजनक भाषा प्रयोग गर्नु मर्यादा हो। तर बाहिर साथीभाइबीच बोलिने शैलीलाई अनावश्यक रूपमा विवाद बनाइएको छ,” उनले स्पष्ट पारे।
सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको आलोचनालाई पनि उनले योजनाबद्ध प्रचारको संज्ञा दिए। “अल्गोरिदम चलाएर चुनाव जित्नेहरूले नै अहिले मेरो विरोध गरिरहेका छन्,” उनले आरोप लगाए।