काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक सुरु भएको हो ।
परिषद् सचिवालयका अनुसार बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नु रहेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले गत चैत १८ गते अवकाश गएपछि प्रधानन्यायाधीश पद रिक्त छ ।
भावि प्रधानन्यायाधीशका लागि कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाल, डा। मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा छ।
संवैधानिक परिषद्को बैठकमा सहमति जुटेमा आजै प्रधानन्यायाधीशको नाम सिफारिस गरिनेछ। सहमति नजुटेमा अर्को बैठकमा निर्णय हुनेछ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्बाट सिफारिस गर्न आजको बैठक बोलाइएको थियो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहनेछन् भने प्रतिनिधि सभाका सभामुख, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता सदस्य रहनेछन् ।
तर बिहीबारको बैठकको कार्यसूचीमा प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने तालिका रहेकाले त्यहाँ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको स्थानमा कानुनमन्त्री सोविता गौतम उपस्थित भएकी छिन् ।
पहिले संवैधानिक परिषद्बाट हुने सिफारिस सर्वसम्मत हुने व्यवस्था रहेकामा नयाँ अध्यादेश अनुसार अब परिषद्को बैठक बस्न ६ सदस्यमध्ये ४ सदस्य उपस्थित भए गणपूरक संख्या पुग्ने उल्लेख छ । र, गणपूरक सङ्ख्या पुगी अध्यक्षसहित अन्य तीन सदस्यले समर्थन गरेमा सिफारिसका लागि बहुमत पुग्ने प्रावधान राखिएको छ ।