काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग सामूहिक छलफल थालेका छन्।
अध्यक्ष ओलीले नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्वसम्बन्धी विवाद समाधानका विषयमा पार्टीभित्र छलफल थालेका हुन्।
अहिले अध्यक्ष ओली र संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहित सुदूरपश्चिमका ११ सांसदहरुबीच गुण्डुस्थित ओली निवासमा छलफल जारी छ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै प्रदेशभित्र केही समयदेखि संसदीय दलको नेतृत्व परिवर्तनको माग उठ्दै आएको छ। दलभित्र आन्तरिक असहमति बढ्दै गएपछि यसबारे औपचारिक छलफल अघि बढाइएको हो।
यसअघि प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि सुदूरपश्चिमका प्रदेशसभाका केही सांसदहरूले अलग–अलग रूपमा पार्टी अध्यक्ष ओलीसँग भेट गरी नेतृत्व परिवर्तनको माग राखेका थिए।
जारी बैठकमा संसदीय दलको परिवर्तनबारे छलफल भइरहेको जनाइएको छ।