काठमाडौं । शोभा पाठकलाई आक्रमण गर्ने १० जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार आज मंगलबार अनुसनधान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
केहिदिन अघि शोभा पाठक नामकी युवती आफूलाई नेकपा एमालेका सचिव महेश बस्नेतले ‘रेप’ गरेको दाबी र सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् ।
सोही ठाउँमा गएर एमाले नेता बस्नेतकी पत्नी अम्बिका बस्नेतसहितको समूहले पाठकमाथि आक्रमण गरेको थियो । माइतीघरमा कुटाकुट परेपछि घटनास्थलबाट प्रहरीले शोभालाई अस्पताल पठाएको थियो भने अम्बिकालाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो ।
पक्राउपश्चात् सुरुमा २ दिन म्याद थपिएको थियो । त्यसपछि एक दिन मात्र थपियो । पछिल्लो पटक गत वैशाख १७ मा फेरि ५ दिन थपिएको थियो । अनुसन्धान नसकिएको देखाएर फेरि थपिने तयारी रहेको प्रहरी स्रोत बताउँछ ।
अम्बिकासहित १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले अहिले भने ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै प्रतिवेदन बुझाएको हो । सरकारी वकिल कार्यालय प्रतिवेदन अध्ययन गरेपछि अदालतमा मुद्दा दर्ता गर्नेछ ।
मुद्दा दर्ता अदालतले थुनछेक बहस गरेर निजहरूलाई थुनामा राख्ने कि तारेखमा छोड्ने भन्ने निर्णय लिन्छ ।
ज्यान मार्ने मनसाय वा प्रयास गरेको तर ज्यान नमरेको अवस्थामा ज्यान मार्ने उद्योगको मुद्दा चल्छ । यस्तोमा यदि साँच्चै ज्यान मार्न खोजेको प्रमाणित भएमा अभियुक्तलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ ।