धनगढी । कैलालीमा एक सशस्त्र प्रहरीका प्रशिक्षार्थीको मृत्यु भएको छ ।
कैलालीको बनबेहडास्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम गरिरहेका एक सशस्त्र प्रशिक्षार्थी जवानको सोमबार बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा दार्चुलाको नौगाड गाउँपालिका-१ स्थायी घर भएका महेश महता रहेका छन् ।
बडिमालिका जवान तालिम शिक्षालयकाअनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यसपछि थप उपचारका लागि अत्तरिया अस्पताल लगिएको थियो ।
तर उपचारकै क्रममा आज बिहान चिकित्सकले महतालाई मृत घोषणा गरेका थिए ।
महता फागुनदेखि सशस्त्र प्रहरीको बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जावनका रुपमा तालिम गरिरहेका थिए । स्वस्थ अवस्थामा महता एक्कासी बिरामी परेका हुन् ।
उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
दार्चुलाबाट उनको परिवार पुगेपछि मात्र शव परीक्षण लगायतको प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ