काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागत कब्जा र नीतिगत सेटिङको अन्त्य गर्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका लुटतन्त्र सम्बन्धी प्रतिवेदनहरू हेर्दा आङ सिरिङ्ग हुने गरेको बताएका छन् ।
'मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ मेरो आङ सिरिङ्ग हुन्छ । मलाइ तपाईंहरूमध्ये धेरैलाई व्यक्तिगत रूपमा चिन्नुहोला, सँगै सामाजिक उठबस होला, तर नेपालका जनता विरुद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा म स्तब्ध हुन्छु । यो अब रोकिनुपर्छ,' उनले भने ।
एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको उनले बताए ।
वाग्लेले सरकार नयाँ सुरुवातको संकेत दिन खोजिरहेको उल्लेख गर्दै विगतका गल्तीहरू दोहोरिन नदिन निजी क्षेत्रलाई पनि जिम्मेवार बन्न आग्रह गरे । उनले भ्रष्टाचार र अपराधलाई संरक्षण गर्ने प्रयास नगर्न चेतावनीसमेत दिए ।
उनका अनुसार निजी क्षेत्रभित्र सरकारप्रति कठोर भएको आशंका भए पनि त्यो सत्य होइन । रास्वपा सरकारलाई उद्धृत गर्दै उनले यो प्रक्रियालाई केहीका लागि पीडादायी हुन सक्ने स्वीकार गरे ।
'हामी ‘फोहोर सफा’ गर्ने काममा छौँ, तर सावधानीपूर्वक, ‘उनले भने ।
साथै, इमानदार व्यवसायीका लागि सहज वातावरण बनाउने लक्ष्य रहेको उनले बताए ।