काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक ९आईजीपी नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह लगाउने भएका छन् ।
१८ वैशाख (शुक्रबार मध्यराति १२ बजे) बाट सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी राजु अर्याल अनिवार्य अवकाशमा गइसकेका छन् ।
अर्याल शुक्रबार मध्यराति नै अवकाशमा गएपछि सशस्त्र प्रहरी बलको नेतृत्व बहन गर्नका लागि गत सोमबारको मन्त्रिपरिषद् बैठकले पौडेललाई महानिरीक्षकमा बढुवा नियुक्त गर्ने निर्णय गरिसकेको छ ।
शनिबारदेखि नै आईजीपी पद रिक्त भएपनि शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले पौडेलले सोमबार मात्रै महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाउन लागेका हुन् ।
सोमबार बिहान पौने ९ बजे दर्ज्यानी चिन्ह प्रदान गरिने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
निवर्तमान गृहमन्त्री सुधन गुरुङले अबदेखि महानिरीक्षकलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह प्रदान गर्ने बताएकाले यो पटक महानिरीक्षकलाई कसले दर्ज्यानी चिन्ह लगाइदिन्छन् भन्ने विशेष चासोको विषय बनेको थियो ।
तर स्रोतका अनुसार गृह मन्त्रालयले नवनियुक्त आईजीपी पौडेललाई गृहसचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह लगाउने स्पष्ट पारेको छ।
गुरुङको बहिर्गमनसँगै उनले बोलेको विषय कार्यान्वयन नहुने भएपछि अहिले महानिरीक्षकलाई गृहसचिवले नै दर्ज्यानी चिन्ह लगाउने छन् ।
गुरुङको बहिर्गमनसँगै अहिले गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन् ।