खोटाङ । बराहपोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ।
स्थानीय ढकालेखोला भीरबाट खस्दा ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनीकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना वैशाख १९ गते दिउँसो भएको हो।
वडाध्यक्ष फौदराज राईका अनुसार अघिल्लो दिन हराएको खुकुरी खोज्ने क्रममा दुवै जना भीरमा पुगेका थिए। बमबहादुर राईले वैशाख १८ गते घाँस काट्न जाँदा खुकुरी हराएपछि त्यसैलाई खोज्न छिमेकी मनीकुमारलाई साथमा लगेका थिए।
खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि अर्काले समात्ने प्रयास गर्दा दुवैजना सँगै खसेको अनुमान गरिएको छ।
प्रहरीका अनुसार दुवै जनाको शव पोस्टमार्टमका लागि बेल्टार लैजाने तयारी भइरहेको छ।