'सुकुम्बासीहरूको व्यवस्थापन कसरी भइराखेको छ ? लोकतन्त्रमा जनताले स्पष्ट जानकारी पाउनुपर्छ'
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
शनिबार सामाजिक संजालमार्फत उनले सुकुम्बासीहरूको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै व्यवस्थापन प्रक्रिया पारदर्शी र प्रभावकारी नभएको आरोप लगाएका हुन्।
उनले लोकतन्त्रको आधार नै नैतिकता, पारदर्शिता र जवाफदेहिता भएको स्मरण गराउँदै सरकारसँग स्पष्ट जवाफ मागेका छन्।
'सुकुम्बासीहरूको व्यवस्थापन कसरी भइराखेको छ ? लोकतन्त्रमा जनताले स्पष्ट जानकारी पाउनुपर्छ । सुकुमवासी व्यवस्थापन जस्तो संवेदनशील विषय केवल प्रशासनिक काम मात्र होइन, यो सामाजिक न्याय, मानव अधिकार, नागरिकको आत्मसम्मान र दीर्घकालीन गरिबी उन्मूलनसँग जोडिएको विषय हो,' उनले संजालमा लेखेका छन् ।
किरातीले हाल सुकुम्बासी समुदाय निराशाको चरम अवस्थामा पुगेको भन्दै केही मानिसहरू आत्महत्या जस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन्। उनले बालबालिका र वृद्धवृद्धाको दयनीय अवस्थाले आम नागरिकमा आक्रोश बढाएको पनि बताएका छन्।
'जब राज्यले आधारभूत मानवीय आवश्यकताको सुनिश्चितता गर्न सक्दैन, त्यतिबेला नागरिकहरू यस्तो चरम निर्णय लिन बाध्य हुन्छन्,' उनले भनेका छन्।