काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गर्दै साथ दिने तर अन्यथा विरोध जारी रहने चेतावनी दिएका छन्।
बिहीबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले पछिल्लो समय सुकुम्बासी हटाउने सरकारी कदमप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रतिक्रिया दिएका हुन्।
‘बालेनजी... कानुन भन्दै र मान्दै जाँदा पाप गर्नु हुन्न है। एक दिन मरेर जानु छ। के तेरो के मेरो, के सरकारको के जनताको,’ उनले लेखेका छन्, ‘विकास निर्माणमा लाग्नुस्, साथ दिनेछु, अन्यथा विरोध भइरहनेछ।’
साम्पाङले सामाजिक न्यायको विषय उठाउँदै गरिब तथा सुकुम्बासीप्रति राज्यको व्यवहार मानवीय हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
त्यस्तै, उनले आफ्ना समर्थकलाई संयमित रहन आग्रह गरेका छन्। ‘मलाई गाली गर्नेहरूलाई गाली गरेर उत्तर नदिनु होला,’ भन्दै उनले क्षमाशील बन्न आग्रह गरेका छन्। ‘उनीहरूलाई थाहा छैन—गरिबलाई हेप्नु नै पाप हो भन्ने,’ उनले उल्लेख गरेका छन्।