काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन कडाइ गर्दै कोसी, लुम्बिनी र मधेस प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य तथा सांसदसहित सात जनालाई स्पष्टीकरण सोधेको छ ।
केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको ठहर गर्दै पाँच दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।
स्पष्टीकरण सोधिएका व्यक्तिहरूमा लुम्बिनीका वनमन्त्री देवकरण प्रसाद कलवार (सन्तु), कोसी प्रदेशका मन्त्री तथा पूर्व केन्द्रीय सदस्य प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनीका उपसभापति तथा प्रदेशसभा सदस्य राजु खनाल, मधेस प्रदेशका सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर राय रहेका छन् ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको आधिकारिक लाइनविपरीत गतिविधि गरेको उजुरी र तथ्यका आधारमा अनुशासनात्मक प्रक्रिया अघि बढाइएको हो।