काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद् रोकेर अध्यादेश ल्याउने सरकारी कदमलाई अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले संसद् अधिवेशन स्थगित गराएर अध्यादेश ल्याउनु गम्भीर र दुःखद विषय भएको बताएका हुन् ।
'संसद् अधिवेशन स्थगित गराएर अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो,'उनले भने, 'सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको विषय गम्भीर चिन्ताको विषय बनेको छ ।'
नेता आङदेम्बेले संसद् नचलेको अवस्थामा मात्र अत्यावश्यक परिस्थितिमा अध्यादेश ल्याउन सकिने भए पनि हाल त्यस्तो जरुरी अवस्था नरहेको स्पष्ट पारे ।
उनले छिटो संसद् अधिवेशन बोलाएर आवश्यक विधेयकहरू पारित गर्न सरकारलाई कुनै बाधा नरहेको उल्लेख गरे ।
'प्रमुख प्रतिपक्ष र अन्य दलसँग सामान्य परामर्शसमेत नगरी हतारमा अध्यादेश ल्याउनु बलमिचाइको राजनीति हो,' उनले प्रश्न गरे, 'आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास ? संसद्को गरिमा र मर्मको किन अवमूल्यन ?'
उनले विगतदेखि बहसमा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई नयाँ संसदबाट संवाद र सहमतिका आधारमा परिपक्व ढङ्गले टुङ्ग्याउन सकिने बताए ।
साथै, नेपाली कांग्रेस संसदीय दल सरकारलाई रचनात्मक सहयोग गर्न सदैव तयार रहेको जनाउँदै उनले लोकतन्त्र, जनअभिमत, सार्वभौम संसद् र संविधानको मर्ममाथि आघात पुग्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।