ओखलढुंगा। ओखलढुंगास्थित चण्डेश्वरी माध्यमिक विद्यालयले रास्वपाका सांसद विश्वराज पोखरेलसँग सम्बन्धित घटनाबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ ।
सांसदलाई विद्यालय प्रवेशका क्रममा आवश्यक स्वागत नभएको विषयलाई लिएर उठेका प्रश्नपछि विद्यालय प्रशासनले धारणा सार्वजनिक गरेको हो ।
ओखलढुंगाबाट निर्वाचित रास्वपाका सांसद पोखरेल गत वैशाख १० गते शैक्षिक अवस्था तथा समस्याबारे जानकारी लिन जिल्लाको चण्डेश्वरी माद्यमिक विद्यालय पुगेका थिए । पूर्वनिर्धारित कार्यक्रम पनि प्रधानाध्यापक सन्त बहादुर मगर आफ्नो कार्यकक्षमा व्यस्त रहेका कारण उनको स्वागतका लागि नपुगेको भन्दै पोखरेलले झपारेका थिए । उक्त भिडियो सामाजिक सञ्जालमार्फत् यत्रतत्र भएसँगै सांसद पोखरेलले आफ्नो व्यवहारप्रति गल्ती स्वीकार गर्दै माफी समेत मागेका थिए ।
यसैबीच विद्यालयका प्रधानाध्यापक मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेका हुन् ।
‘'हतारिँदै विद्यालयका मागपत्रसहित माननीय बाहिरी गेटमा भेट तथा स्वागत गर्ने क्रममा माननीयका अभिव्यक्तिप्रति प्र अ ले मनन गरी क्षमा याचनासहित मागपत्र पेश गरी विद्यालयको कार्यालयमा गई विविध पक्षमा छलफल भइ सौहार्दपूर्ण वातावरणमा उहाँको टिमसँग बिदा भएको अवस्थामा यस घटनाले माननीयज्यूलाई मान मर्यादामा पर्न गएको आघातप्रति विद्यालय परिवार पुनः क्षमा याचना गर्दछ,' जारी विज्ञप्तिमा भनिएको छ ।
सांसद पोखरेल विद्यालय पुगेका बेला प्रधानाध्यापक मगर आफ्नै कार्यकक्षमा विद्यालयको आवश्यक माग तथा समस्यासम्बन्धी विवरण तयार गर्ने कार्यमा व्यस्त रहेको जनाइएको छ ।
विद्यालय प्रशासनका अनुसार बाहिर आउन केही ढिलाइ भएको र सोही बीचमा सांसद विद्यालय परिसरबाट प्रस्थान गरिसकेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ ।