धनगढी । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारस्थित बिबेक रेस्टुरेन्ट एण्ड लजमा शुक्रबार राति करिब पौने १ बजे आगलागी भएको हो ।
आगलागीमा परी होटलमै सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मिनबहादुर बोहराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीका अनुसार बोहरा सुतिरहेको कोठामै आगो लागेको थियो। प्रारम्भिक अनुसन्धानबाट लामखुट्टे भगाउन बालिएको अण्डाको क्रेटबाट आगलागी भएको हुन सक्ने आशंका गरिएको छ।
आगो नियन्त्रणका लागि घोडाघोडी नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा केही समयपछि आगो निभाइएको थियो। आगलागीबाट होटलको भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल मा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।