काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विद्यालयको सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको आरोपमा तत्कालीन प्रधानाध्यापक र लेखापालसहित ८ जनाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैँसा बराबरको हिनामिना भएको छ । आर्थिक वर्ष २०७८र७९ मा प्रविधिमैत्री कक्षा निर्माण शीर्षकमा ७ लाखभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानले देखाएको छ । आयोगका अनुसार प्रविधिमैत्री कक्षाका लागि खरिद गरिएको भनिएका विभिन्न सामग्री विद्यालयमा पेश नगरी ४ लाख ८८ हजार ८ सय ११ रुपैयाँ र तालिम सञ्चालन नगरी झुट्टा बिलका आधारमा २ लाख २० हजार रुपैयाँ अपचलन गरिएको भेटिएको छ ।
यसैगरी, दुई आर्थिक वर्षमा विद्यार्थीबाट संकलित शुल्क बैंकमा दाखिला नगरी ५४ हजारभन्दा बढी रकम अपचलन गरिएको तथा बेरुजु फर्छ्यौटका नाममा समेत रकम दुरुपयोग गरिएको आयोगले जनाएको छ ।
आरोप पत्रमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का, सूचना प्रविधि अधिकृत गोपाल ओली, प्रधानाध्यापक हरि प्रसाद खनाल, लेखापाल ठकबहादुर बुढाथोकी, कार्यालय सहायक रमा शाह र गौरी रावत केसीलाई प्रतिवादी बनाइएको छ।
यस्तै, दाङस्थित डिजिटल कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठलाई समेत गैरकानुनी लाभ–सुविधा आदानप्रदानमा संलग्न भएको आरोपमा मुद्दा दायर गरिएको छ।
सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा भ्रष्टाचारसम्बन्धी कसुरमा उनीहरूविरुद्ध कानुनी कारबाही अघि बढाइएको उल्लेख गरिएको छ।
कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले आठै जनामाथि सोही बराबरको बिगो र जरिवाना माग दाबी गरेको छ।