काठमाडौं। नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
मंगलबार गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै सिंहदरबार परिसरमा प्रदर्शन गर्न गएका बेला नेविसंघका केही नेताहरू पक्राउ परेका थिए ।
प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेसले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेको हो।
'लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकारहरू हुन् । यस्ता अधिकारहरूको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व हो । यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्दछ,' कांग्रेसका प्रवक्ता देवराज चालिसेद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले असहमति र विरोधलाई दमन गर्नुको सट्टा संवादमार्फत समाधान गर्नुपर्ने बताउँदै पक्राउ परेका नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेको छ ।
पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य ई. भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल विसीलगायत रहेका छन् ।