एजेन्सी । लेबनानी स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा लेबनानमा भएका इजरायली आक्रमणमा कम्तिमा ३५ जनाको ज्यान गएको छ ।
उक्त आक्रमण लेबनान र इजरायलका अधिकारीहरू वासिङ्टन डीसीमा वार्ताका लागि भेला भइरहेका बेला भएको हो।
इरान समर्थित हिजबुल्लाह का संरचनालाई लक्षित गर्दै इजरायल ले ६ हप्ताअघि सुरु गरेको सैन्य कारबाही अझै निरन्तर जारी छ। इरान र अमेरिका बीच हालै युद्धविराम सम्झौता भए पनि त्यसको प्रभाव लेबनानमा देखिएको छैन।
स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ यता भएका आक्रमणहरूमा कम्तीमा २,१२४ जनाको मृत्यु भइसकेको छ, जसमा १६८ बालबालिका र ८८ स्वास्थ्यकर्मी समेत परेका छन्।
यता इजरायली सेनाले मंगलबार दक्षिण लेबनानको बिन्त जबेल क्षेत्रमा आफ्ना सैनिकहरू घाइते भएको जनाएको छ। सो क्षेत्रमा इजरायलले पछिल्ला दिनहरूमा स्थलगत आक्रमण तीव्र बनाएको छ।
सेनाका अनुसार बिन्त जबेलमा तीन सैनिक गम्भीर घाइते भएका छन् भने एक बटालियन कमाण्डरलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ।