काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फ्री तिब्बतको आरोप लागिरहेका बेला नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएका छन् ।
सोमबार गृह मन्त्रालयमा नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङसँगको भेटमा सुधनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, सुरक्षा सहकार्य र विकास साझेदारीका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ।
भेटका क्रममा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई पदभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। जवाफमा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको स्पष्ट पार्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याए।
उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा सरकारको प्रमुख प्राथमिकता भएको बताए।
भेटवार्तामा गृहमन्त्री गुरुङले भिसा नवीकरण नगरी नेपालमा बसिरहेका चिनियाँ नागरिकलाई स्वदेश फिर्ता गर्ने प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि चिनियाँ पक्षसँग आग्रह गरेका थिए। साथै, चीनको सहयोगमा सञ्चालित विकास आयोजनाहरू समयमै सम्पन्न गर्न, प्रस्तावित नेपाल–चीन रेलमार्गलाई अघि बढाउन तथा द्विपक्षीय व्यापार सहजीकरणमा थप पहल गर्न पनि जोड दिएका छन्।
दुवै पक्षबीच नेपाल–चीन सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सहकार्य सुदृढ बनाउने विषयमा पनि सहमति जनाइएको छ। चिनियाँ पक्षले नेपालको सुरक्षा निकायको क्षमता अभिवृद्धिमा सहयोग गर्न सकारात्मक धारणा राखेको बताइएको छ।