Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईबिडिङ नै ह्याक गरी अर्बौंका ठेक्का हत्याउने ठेकेदार खोज्दै सीआईबी, केही भारत पुगिसकेको आशंका

ईबिडिङ नै ह्याक गरी अर्बौंका ठेक्का हत्याउने ठेकेदार खोज्दै सीआईबी, केही भारत पुगिसकेको आशंका

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । सरकारी विद्युतीय बोलपत्र प्रणाली (ईबिडिङ) नै ह्याक गरेर ठूला ठेक्का लिने गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्यूरोले संयुक्त रुपमा छानविन गरिरहेका छन् । 

सडक, खानेपानी, सहरी विकास मन्त्रालय, आयल निगम, सर्वोच्च अदालत, प्रहरी एकेडेमी, विभिन्न जलविद्युत आयोजनाहरु लगायतका अर्बौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली नै ह्याक गरी लिनेमा ठूला निर्माण ब्यवसायी रहेको भन्दै उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत छानविन अगाडि बढाएको थियो ।

स्रोतका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्राचारपछि सीआइबी र साइबर ब्यूरोको टोलीले दुई महिनादेखि छानविन गरिरहेका छन् ।

सीआईबीले केही निर्माण ब्यवसायीलाई नियन्त्रणमा समेत लिएर अनुसन्धान अगाडि बढाएको छ । यद्यपी मुख्य ठेकदारहरू भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

हेटौंडाका निर्माण व्यवसायी सागर कटवाल लगायत केही साना व्यवसायीलाई भने सीआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सीआईबीका अधिकारीहरुले यस विषयमा औपचारिक रुपमा बोलेका छैनन् ।

केही विदेशी ह्याकरहरु समेत पक्राउ परेको बताइएपनि आधिकारिक रुपमा बाहिर आएको छैन । 

स्रोतका अनुसार ठेक्का ह्याकिङमा मात्र करोडौं लेनदेन भएको भन्दै विभिन्न निकायमा उजुरी परेपछि यसलाई गम्भिरताका साथ प्रहरीले हेरिरहेको छ । 

ठेकेदार र ह्याकरले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट ह्याक गरी अरुको भन्दा कम आर्थिक प्रस्ताव राखेर ठेक्का हात पार्दै आएका थिए । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ठेक्का पनि त्यसैगरी हत्याएको खुलेपछि आशिष निर्माण सेवा, सगुन इन्जिनियरीङ लगायत कम्पनीमाथि सीआइबीले छानबिन गरिरहेको छ । 

बोलपत्रका लागि प्रस्ताव पेश गर्नुभन्दा केही मिनेट अगाडि आफ्नो बिड मोडिफाई गरी उनीहरुले सबैभन्दा कम प्रस्ताव गर्दथे । यसमा झण्डै एक करोड खर्च गरी विदेशी ह्याकर समेत प्रयोग गरिएको खुलेको छ ।  

सीआईबीले अनुसन्धान अगाडि बढाएपछि बोलपत्रको सिष्टम ह्याक गरी अरबौंका टेण्डर हत्याउने केही निर्माण ब्यवसायीहरु फरार भएका छन् । फरार भएका केही ठेकेदारहरु भारत पुगिसकेको आशंका गरिएको छ । 

आशिष निर्माण सेवाका मालिक निर्माण गौली, ठूला सरकारी ठेक्का हत्याउँदै आएको समानान्तर निर्माण सेवाका अच्युत खरेल, तुँदी कन्ट्रक्सनका सुमन सुवेदीलगायतमाथि पनि सीआईबीले अनुसन्धान गरिरहेको स्रोत बताउँछ । 

यीमध्ये केही त सम्पर्कमै छैनन् भने कतिपयलाई प्रहरी अधिकारीले नै सूचना दिएर भगाएको आशंका गरिएको छ । 

तराईका रौतहट र सर्लाहीमा नवीनतम यान्त्रिक सिंचाई आयोजनाले भूमिगत जलस्रोतको उपभोगमार्फत पाँच सय डिप ट्युबवेलको निर्माणका लागि आह्वान गरेको ठेक्कामा पनि चिनियाँ कम्पनीको नक्कली र कीर्ते कागजात पेश गरेको कुमार श्रेष्ठ निर्माण सेवामाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानविन गरिरहेको एक अधिकारीले बताए ।

उक्त कम्पनीको कीर्ते प्रकरणमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ । 

नेपाली सेनाको काठमाडौं–तराई द्रुतमार्ग(फाष्टट्रयाक) निर्माणको बोलपत्र पनि ह्याक भएको आशंकामा गोप्य अनुसन्धान भइरहेको बुझिएको छ । 

ह्याकरको सहयोगमा सरकारी इबिडिङ सिष्टममा पहुँच पुर्याई प्रतिस्पर्धीको आर्थिक प्रस्ताव हेर्ने र त्यही अनुसार आफ्नो प्रस्ताव बनाएर पेश गरी ठेक्का लिने गरेको बिषयमा तीनै निकायको अनुसन्धान केन्द्रीत रहेको स्रोत बताउँछ । 

ठेक्कामा बोलपत्र सिष्टम ह्याक गरी ठेक्का लिएकोबारेमा अनुसन्धान गर्ने क्रममा द कुमार सिचुवान जेभी लगायतका कम्पनी पनि अनुसन्धानमा तानिएका छन् । 

ईबिडिङ सिस्टम ह्याक गरी ठेक्का हत्याएका ठेकेदारहरु पक्राउ परेको विषयमा सीआईबीका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठले अनुसन्धानमा नै रहेको विषय भएको हुँदा केही सार्वजनिक नभएको अनलाइन नेपालसँग बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077