काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिका–१२ चितवन स्थायी ठेगाना भई हाल काठमाडौं–९ मण्डिखाटार बस्दै आएका ७० वर्षिय गौली पुरानो बानेश्वरबाट पक्राउ परेका हुन् ।
उनी आषिश निर्माण सेवाका अध्यक्ष हुन् । पक्राउ छल्न गौली केही दिन अघिदेखि अस्पताल भर्ना भएका थिए ।
योसँगै ई–बिडिङ ठेक्का हकिङ प्रकणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।
सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–गभर्न्मेन्टव प्रोक्र्युर्मेन्ट (ई–जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का विवरण हेरफेर गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
नेपाल प्रहरी साइबर ब्यूरोमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको थियो।
यही प्रकरणमा राप्रपा नेता एवम् कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेसहित १० जना पक्राउ परिसकेका छन् ।
गिरोहका मुख्य व्यक्ति मानिएका आशिष निर्माण सेवाका प्रवन्ध निर्देशक निर्माण गौली भने फरार छन् । गौलीका सहयोगी ज्योती सुवेदी पनि फरार छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १० अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौली पक्राउ परेका हुन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपका बारेमा पनि अनुसन्धान भइरहेको सीआईबी स्रोत बताउँछ ।
तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेल, रेलिगेयरका संचालक शेरबहादुर केसीलगायत पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा अनुसन्धानमा तानिएका छन्। यस प्रकरणमा एक दर्जन भन्दा बढी ठेकेदारहरू सीआइबीको अनुसन्धानमा छन्।
