काठमाडौं । काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रमा अज्ञात सवारीको ठक्करबाट एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय बिराज थामी रहेका छन्।
प्रहरीका अनुसार गएराति करिब साढे ११ बजेतिर जडिबुटीबाट पेप्सीकोला तर्फ जाने सडकमा उनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
तत्काल उद्धार गरी उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा लगिएको थियो । तर उपचारकै क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा थामीको टाउकोमा गम्भीर चोट लागेको थियो। ठक्कर दिने सवारीसाधनको पहिचान खुल्न नसकेको र घटनामा संलग्न सवारी तथा चालकको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।