काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रूपमा रहन अनुरोध गरेको छ । दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
मध्यपूर्वमा विकसित बढ्दो तनावका कारण जारी युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यान दिँदै दूतावासले सबैलाई सर्तक रहन भनेको छ ।
'संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सतर्क र सुरक्षित रूपमा रहन अनुरोध छ,' दूतावासले भनेको छ ।
इजरायल सरकार एवं इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशनहरू पालना गर्न, विकसित घट्नाक्रमको बारेमा नियमितरूपमा अद्यावधिक जानकारी राख्न, सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरू अनावश्यकरूपमा सेयर नगर्न आग्रह गरेको छ ।
दूतावासले आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न पनि अनुरोध गरेको छ । यद्यपि यो सूचना जारी गरेपश्चात् इजरायल-अमेरिका र इरानबिच जारी युद्ध २ हप्ताका लागि रोक्ने सहमति भएको छ।
