एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको “सभ्यता समाप्त पार्ने” चेतावनी दिएपछि इरानभर जनआन्दोलन देखिएको छ ।
देशका विभिन्न सहरमा लाखौँ नागरिकहरू अत्यावश्यक भौतिक तथा ऊर्जा संरचना जोगाउन ‘मानव साङ्लो’ बनाएर सडकमा उत्रिएका छन् ।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत मंगलबार राति ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान) इरानका महत्वपूर्ण संरचनामाथि आक्रमण गर्ने धम्की दिएका थिए । “आज राति पुरै सभ्यता समाप्त हुनेछ, जुन फेरि कहिल्यै फर्कन सक्दैन,” उनले लेखेका छन्।
यस चेतावनीपछि इरानका विदेशमन्त्री अब्बास अराघची ले राष्ट्रव्यापी आह्वान गर्दै नागरिकलाई ऊर्जा र पूर्वाधार जोगाउन प्रत्यक्ष रूपमा सडकमा उत्रिन आग्रह गरेका थिए। उनले कलाकार, खेलाडी, युवा तथा सर्वसाधारण सबैलाई राष्ट्रिय संरचना रक्षा अभियानमा सहभागी हुन अपिल गरेका थिए।
विदेशमन्त्रीको आह्वानलगत्तै राजधानी तेहरानसहित विभिन्न सहरमा नागरिकहरू तेल भण्डारण, विद्युत् केन्द्र र अन्य संवेदनशील संरचना वरिपरि मानव साङ्लो बनाएर उभिएका छन्। प्रदर्शनहरू शान्तिपूर्ण भए पनि उच्च सतर्कताका साथ भइरहेको जनाइएको छ।