एजेन्सी । इरान र इजरायलबीच चर्किँदै गएको द्वन्द्वका बीच इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई मारिएको पुष्टि गरेको छ ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिअनुसार रेजाई हालै भएको आक्रमणमा मारिएका हुन् । यसअघि मार्च २६ मा इजरायली रक्षा बल (आईडीएफ) ले आफूले गरेको हमलामा रेजाई मारिएको दाबी गरेको थियो ।
आईडीएफका अनुसार रेजाई छिमेकी देशहरूमा गुप्तचर जानकारी संकलन गर्ने तथा विभिन्न अन्तर्राष्ट्रिय गुप्तचर संयन्त्रसँग समन्वय गर्ने जिम्मेवारीमा थिए ।
यसअघि सोही आक्रमणमा आईआरजीसीका नौसेना कमान्डर अलिरेजा ताङसिरी पनि मारिएको इजरायलले जनाएको थियो, जसको पुष्टि इरानले चार दिनपछि मात्र गरेको थियो । द्वन्द्वको सुरुआतदेखि नै उच्चस्तरीय क्षति भएको दाबी भइरहेका छन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा सुरु भएको आक्रमणको पहिलो दिनमै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै शीर्ष अधिकारी मारिएको दाबी गरेका थिए।
त्यसयता इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी तथा आईआरजीसीका प्रवक्ता अली मोहम्मद नैनी समेत मारिएको बताइएको छ।