काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विभेद र प्रतिशोधको राजनीतिले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु लामो नहुने दाबी गरेका छन् ।
रेष्लर भगवती खड्कालाई साइबर अपराध मुद्दाअन्तर्गत पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै बस्नेतले सरकारमाथि गम्भीर प्रश्न उठाएका हुन् ।
उनले एक विवादित महिलाको उजुरीका आधारमा सामाजिक सञ्जालमा गरिएको सामान्य असहमतिको टिप्पणीलाई लिएर पक्राउ गरिएको भन्दै त्यसलाई प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका छन् ।
बस्नेतले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, 'सामान्य कमेन्टकै आधारमा भगवती खड्कालाई पक्राउ गरिएको तीन दिन भइसक्यो, र यसमा गृहमन्त्री सुदन गुरुङ को दबाब रहेको भनिएको छ ।'
यसैबीच, उनले केपी शर्मा ओली को गिरफ्तारीको विरोधमा बोलेकी अमिसा पराजुली माथि भएको साइबर बुलिङप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
बस्नेतका अनुसार, अमिसामाथि गालीगलौज र अश्लील टिप्पणी गरिएको घटनामा संलग्नहरूविरुद्ध मुद्दा दर्ता भए पनि कारबाही प्रक्रिया ढिलासुस्ती भइरहेको छ र हालसम्म पक्राउ पुर्जीसमेत जारी गरिएको छैन।
उनले यसलाई दोहोरो मापदण्डको उदाहरण भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। 'एकातिर सामान्य टिप्पणीमा तुरुन्त पक्राउ, अर्कोतिर गम्भीर साइबर बुलिङमा ढिलाइ यो विभेदपूर्ण व्यवहार हो,' बस्नेतले भने ।
अन्त्यमा उनले यस्ता घटनाले सरकारको विश्वसनीयता कमजोर बनाउँदै लैजाने उल्लेख गर्दै चेतावनी दिएका छन्, 'प्रतिशोधी सोचले अघि बढिरहेको बालेन शाह नेतृत्वको सरकार लामो समय टिक्दैन। यस्तो विषयमा सभ्य समाज र आम जनताले समयमै आवाज उठाउन जरुरी छ।'