काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष तथा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरेको बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
सरकारले सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीका बारेमा अनुसन्धान अघि बढाएको हो ।
स्रोतका अनुसार, यसअघि नै जुटाइएका सूचना र प्रमाणहरु संकलन गरेर अनुसन्धान थप अघि बढाउने काम भएको हो । जेनजी आन्दोलनका क्रममा देउवा निवासमा आगलागी हुँदा करोडौं रुपैयाँ जलेका भिडियो भाइरल भएका थिए ।
त्यसैले अहिले भत्काउँदै गरिएको देउवा निवासको काम पनि रोकिएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको हो ।
स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिव ७३ रोपनी जग्गा, भुटानी शरणार्थी केसमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणामा लागेको आरोप तथा जेनजी आन्दोलनम जलेको करोडौं पैसाका विवरणहरु संकलन भएका छन् ।