काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वनका लागि तत्काल लाग्ने बताएका छन्।
शुक्रबार गृह मन्त्रालयमा पदवहाली गरेसँगै गृहमन्त्री गुरुङले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गरिने बताएका हुन्।
उनले भने–‘जेनजी आन्दोलनबारे प्रधानमन्त्रीको निर्णयअनुसार, तत्काल कार्यान्वयन गर्नुपर्छ। यसमा कसैलाई छुट हुँदैन ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
निर्वतमान प्रधानमन्त्री सुशीला कार्कीले छानबिन प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेकी थिइन्। त्यसैलाई आधार बनाएर नवनियुक्त गृहमन्त्री गुरुङले तत्काल कार्यान्वयनमा लग्नुपर्ने बताएका हुन्।
उनले प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी गृह मन्त्रालयकै भएको बताए। उनले भने–‘प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो जिम्मेवारी गृह मन्त्रालयले लिन्छ। त्यही अनुसार गर्न सुरक्षा निकायका प्रमुखलाई भन्छु ।’