काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी घटनाबारे गठन गरिएको गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन मिडियामार्फत ‘लिक’ भएको विषयलाई लिएर कडा आपत्ति जनाएका छन् ।
उनले उक्त प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण ढङ्गले बाहिर ल्याइएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले प्रतिवेदनले केही नेता, प्रशासक, सेना, सुरक्षाकर्मी, पत्रकार र कलाकारलाई मात्र दोषी देखाएर भदौ २४ गतेका आगजनी, तोडफोड तथा व्यक्तिहत्याजस्ता गम्भीर घटनालाई ओझेलमा पार्न खोजिएको टिप्पणी गरे।
'वास्तविक दोषीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा उनीहरूलाई नै जयजयकार गर्ने प्रवृत्ति सुरु हुनु दुःखद हो,' उनले उल्लेख गरेका छन्।
भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै उनले आन्दोलनलाई भड्काउन स्कुले बालबालिकालाई जबरजस्ती सडकमा उतारिएको दाबी गरे।
साथै, सदन, सिंहदरबार, सर्वोच्च अदालत तथा निजी क्षेत्रका उद्योगमा भएको तोडफोडमा सन्देहास्पद एनजीओ तथा आइएनजीओको लगानी प्रयोग भएको विषयलाई प्रतिवेदनले बेवास्ता गरेको भन्दै उनले गम्भीर प्रश्न उठाएका छन्।
बस्नेतले शक्ति र पहुँचको आडमा हुने उग्र गतिविधि समाजका लागि स्वीकार्य नहुने स्पष्ट पार्दै समयमै सचेत हुन सम्बन्धित पक्षलाई चेतावनी दिएका छन्। 'शक्ति आज छ, भोलि हुँदैन, त्यसैले समयमै सम्हालिनु बुद्धिमानी हुन्छ,' उनले भनेका छन्।
उनले प्रतिशोध र द्वन्द्वको बाटो रोजिए मुलुक फेरि अर्को आन्दोलनको भुमरीमा फस्ने खतरा औंल्याउँदै पुनः अर्को ‘कार्की आयोग’ गठन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।