'सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह ‘बालेन’ले आफ्नो जेनजी आन्दोलनमा समर्थन नरहेको जनाएका छन् ।
तत्कालीन काठमाडौं महानगरका प्रमुख समेत रहेका बालेनले जेनजी आन्दोलनपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोग समक्ष यस्तो बयान दिएका हुन् ।
बालेनले जेनजीका जायज मागहरुप्रति समर्थन रहेपनि हिंसात्मक आन्दोलनमा नरहेको बयान दिएका छन् ।
'२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ । २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन,' बालेनले आयोगलाई दिएको बयानमा उल्लेख छ ।
साथै उनले जेनजी आन्दोलनमा भएको सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्ने बताएका छन् ।
'तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ,' बालेनले आयोगसमक्ष भनेका छन् ।
जेनजी आन्देलन हुनु भन्दा एक दिन अगाडी बालेनले फेसबुकमा स्टाटस लेख्दै जेनजीको मागप्रति समर्थन जनाएका थिए ।
त्यसपछि भदौ २४ गते आन्दोलन भड्किन थालेपछि क्षति हाम्रो नै हुने भन्दै सबै जेनजीलाई घर फर्कन आग्रह समेत गरेका थिए ।