काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् ।
सुनसरीको इटहरीमा आज आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी दुःखको समाधान गर्ने पार्टी बन्न चाहेको बताए।
चुनावी सभामा उनले इटहरीबासीलाई प्रश्नै प्रश्न गरेका थिए । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया ? खाना खानुभयो ? बिहानको तरकारी कहाँको खानुभयो, बोर्डर पारीको खानुभयो ?’–बालेनले भने ।
तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको दाबी गर्दै उनले भने–‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दुःखको कुरा हो, यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।’
पूर्वी तराईका तीनचार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरी खुवाउन सकिने बताउँदै उनले रास्वपाले पनि त्यही चाहेको उनले बताए ।