काभ्रे । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान करिब साढे ३ बजेदेखि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।
शुक्रबार दिउँसोदेखि परेको वर्षापछि रोशी गाउँपालिका क्षेत्रमा पर्ने चारसयबेसी, गिम्दी, दाउन्ने र कालढुंगालगायत स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार ठाउँठाउँमा खसेको पहिरोसँगै रोशी खोलामा आएको बाढीले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
उनका अनुसार बाढीका कारण उक्त सडक खण्डमा सवारी साधन सञ्चालन ठप्प भएको छ भने केही सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्।
निरन्तर वर्षा भइरहेकाले रोशी खोलाको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। यसले उद्धार तथा सडक खुलाउने काममा समेत चुनौती थपिएको प्रहरीले जनाएको छ।
प्रहरीले आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।