काठमाडौं । नेपाल जेनजी फ्रन्टले माइतीघरमा जारी प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ ।
शुक्रबार जारी विज्ञप्तिमा फ्रन्टले उक्त घटनालाई “लोकतान्त्रिक मूल्य–मान्यताविपरीत” भन्दै घोर भत्र्सना गरेको हो ।
जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनकारीहरू विगत ६ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन्।
सोही क्रममा बिहीबार प्रदर्शनस्थलमै केही घाइते आन्दोलनकारी अगुवाहरूले संयोजक बमविरुद्ध नाराबाजी गर्दै दुर्व्यवहार गरेका थिए।
फ्रन्टले संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण भेला हुने तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरिरहेका एक आन्दोलनकारीमाथि भएको यस्तो व्यवहार अस्वीकार्य रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'सत्य र न्यायको आवाज उठाइरहेकी एक आन्दोलनकारीमाथि आक्रमण हुनु सभ्य समाजका लागि सह्य हुन सक्दैन।'
फ्रन्टले आन्दोलनभित्रै हुने यस्ता गतिविधिले समग्र आन्दोलनलाई कमजोर बनाउने चेतावनी दिएको छ। घाइते, सहिद परिवार, आन्दोलनकारी र अगुवाहरू एउटै उद्देश्यका साझेदार भएको उल्लेख गर्दै आन्तरिक असहमति राज्यसँगको जवाफदेहितामार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ।
साथै, आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेकामा पनि फ्रन्टले चिन्ता व्यक्त गरेको छ।
'राज्यले अझैसम्म सत्य लुकाएर बसेको छ, प्रतिवेदन सार्वजनिक नहुने संकेत बढ्दो छ,' विज्ञप्तिमा उल्लेख छ।
फ्रन्टले सरकारलाई शीघ्र प्रतिवेदन सार्वजनिक गरी आन्दोलनको माग सम्बोधन गर्न आग्रह गर्दै आन्दोलनलाई एकताबद्ध र शान्तिपूर्ण रूपमा अघि बढाउन सबै पक्षलाई अपिल गरेको छ।