काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौंमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, भूमिका र पार्टीका नीतिबारे प्रशिक्षण दिन लागेको हो ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूको जिम्मेवारी, संसदीय आचरण र संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा स्पष्ट पार्न प्रशिक्षण कार्यक्रम तय गरिएको हो।
पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकाको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ। सोही दिन बिहान १० बजेदेखि प्रशिक्षण कार्यक्रम औपचारिक रूपमा सुरु हुने जनाइएको छ।
कार्यक्रममा संसदीय अभ्यास, विधेयक प्रक्रिया, संसदीय समितिहरूको भूमिका, तथा जनसरोकारका मुद्दाहरू संसद्मा कसरी प्रभावकारी रूपमा उठाउने भन्ने विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने तयारी गरिएको छ।