काठमाडौं । सशस्त्र प्रहरी बलभित्र जेनजी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदनले तरंग ल्याएको छ। एआइजीसहितका उच्च अधिकारीमाथि कारबाहीको सिफारिस भएपछि यसले सशस्त्रको भावी नेतृत्व चयन नै प्रभावित हुने अवस्था देखिएको छ ।
स्रोतका अनुसार त्यसबेला कार्यविभागका प्रमुख रहेका एआइजी नारायणदत्त पौडेल तथा पशुपति बाहिनीका डिआइजी सुरेश कुमार श्रेष्ठमाथि कारबाहीको सिफारिस भएको हो ।
एआइजी पौडेल सबैभन्दा सिनियर एआइजी हुन्। हालका प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी वैशाखमा अवकाश पाएपछिको अवस्थामा उनलाई नै भावी नेतृत्वको प्रमुख दाबेदार मानिएको छ।
तर, २३ र २४ भदौको आन्दोलनमा सशस्त्र प्रहरीको अप्रेसन र समन्वय राम्रो हुन नकेको भन्दै उनलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ। आईजीपी चयन हुनुअघि नै प्रतिवेदन कार्यान्वायनमा गएमा उनलाई समस्या पर्ने देखिएको छ । उनका प्रतिस्पर्धीले पनि यो प्रकरण उचाल्ने जोखिम छ ।
त्यस्तै, सशस्त्र प्रहरीको सिंस १ का डिआइजी सुरेश कुमार श्रेष्ठ पनि जोखिममा परेका छन्। उनी एक वर्षदेखि उपत्यकाको कमाण्ड गरिसकेका छन्। जेनजी आन्दोलनमा पनि उनको कमजोर कमाण्ड देखिएको छ। आयोगले पनि उनको बयान लिएर कारबाही सिफारिस गरेको छ।
श्रेष्ठ आफ्नो ब्याचमा १ नम्बर वरियतामा रहेका अधिकृत हुन्। कारबाहीमा परेमा भने उनलाई पनि भावी दिनमा समस्या पर्ने देखिएको छ ।
त्यस्तै, सशस्त्र प्रहरीका केही गणपति, बानेश्वर बेसका डिएसपी लगायतमाथि पनि कारबाही हुने सम्भावना छ ।