जुम्ला। जुम्लामा स्वास्थ्य जटिलता देखिएका सुत्केरी महिलालाई नेपाली सेना को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
जिल्लाको तिला गाउँपालिका-३ की १८ वर्षीया सुत्केरी महिला अस्मिता नेपालीलाई प्रारम्भिक उपचारपछि थप चिकित्सकीय आवश्यकताका कारण कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।
घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना गरिएको थियो।
प्रतिष्ठानमा शल्यक्रियापछि पनि स्वास्थ्य अवस्था स्थिर नभएपछि थप उपचारका लागि सुर्खेत लैजान आवश्यक देखिएको अस्पतालले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सहयोगमा हेलिकोप्टरमार्फत उद्धार गरि अस्मितालाई सुर्खेत पठाइएको छ।
सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत २०७५ सालदेखि वार्षिक बजेट छुट्याएर दुर्गम जिल्लाका महिलालाई सुत्केरी गराउन अप्ठ्यारो परेको अवस्थामा निःशुल्क हेलिकोप्टर उपलब्ध गराउँदै आएको छ।