Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रुर तरिकाले बाँदरहरुको हत्या गरेको आरोपमा हेम्ब्या पक्राउ, १५ वर्षसम्म हुनसक्छ कैद

क्रुर तरिकाले बाँदरहरुको हत्या गरेको आरोपमा हेम्ब्या पक्राउ, १५ वर्षसम्म हुनसक्छ कैद

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । प्रहरीले आधा दर्जन बाँदरहरूलाई अमानवीय तरिकाले हत्या गरेको आरोपमा २१ वर्षीय सङ्गम भन्ने संयोग हेम्ब्यालाई पक्राउ गरेको छ।

प्रतिनिधिसभा निर्वाचनभन्दा अगाडि क्रुर तरिका (विभत्स ढंग) ले बाँदरहरुको हत्या भएको भिडियो सामाजिक सञ्जालमा भाइरले भएपछि प्रहरीले त्यसको अनुसन्धान थालेको थियो । 

बाँदरहरूलाई कटेरोमा थुनेर, कुकुरले टोकेर, लाठीले हिर्काउँदै विभत्स ढंगले हत्या गरेको अभियोगमा हेम्ब्या पक्राउ परेका हुन् । 

बाँदरहरूलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकेर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । 

पाँचथर हिलिहाङ गाउँपालिका–२ सिहपुर घर भई हाल ताप्लेजुङ पाथिभरा याडवरक गाउँपालिका–२ थेचम्व बस्ने हेम्ब्यालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

फेसबुकमा बाँदरहरूको सामूहिक हत्या गरिएको भिडियो भाइरल भएपछि धेरैले अमानविय काम गरेको भन्दै कारबाहीको माग गरेका थिए। प्रहरीका अनुसार क्रुर तरिकाले मारिएका बाँदरहरू खेतको बाली छेक्न बनाइएको पासोमा परेका थिए ।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र यसका संशोधनहरूले संरक्षित वन्यजन्तु जस्तै ‘आसामी रातो बाँदर’ मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । 

सामी रातो बाँदर संरक्षित सूचीमा पर्छ, तर सामान्य जंगली रातो बाँदर (अन्य प्रजाति) संरक्षित नभए पनि ‘अन्य वन्यजन्तु’ को रूपमा दफा २६ को उपदफा ५ (घ) अनुसार अपराध गरेमा संरक्षितको सजायको आधा सजाय हुन्छ ।

वन्यजन्तुविज्ञ लक्ष्मण खनालका अनुसार भाइरल भिडियोमा देखिएको बाँदर रातो बाँदर नभइए आसामी वा पहरे बाँदर हो । उक्त जातको बाँदर हानिकारक सूचीमा नभई पूर्ण संरक्षित रहेको पनि खनालले बताएका छन् । 

सरकारले अघिल्लो महिना मात्रै जंगली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । जसले गर्दा किसानले आफ्नो खेतबारीमा बाली नष्ट गर्ने बाँदरलाई धपाउन, लखेट्न वा पक्रन पाउँछन्, तर मार्न मिल्दैन । घोषणा भए पनि मारिसकेपछि वन विभागलाई तुरुन्त सूचना दिनुपर्छ, मृत शरीरलाई कुकुरलाई खुवाउन, खान वा व्यक्तिगत प्रयोग गर्न पाइँदैन ।

त्यसैले, बाली जोगाउन मार्ने अनुमति भए पनि आफूखुसी मारेर शव प्रयोग गर्नु वा सूचना नदिनु अपराध नै रहन्छ, जसमा सरकारी मुद्दा चल्न सक्छ । 

समाजिक सञ्जालमा भाइरल भएको बाँदरहरुको हत्या भएको उक्त भिडियो हेर्न सकिने अवस्थाको छैन । बाँदरलाई यसरी तड्पाईतड्पाई मारेको भिडियो धेरैले पुरा हेर्न नसकेको भन्दै कमेन्ट समेत गरेका छन् । 

उक्त भिडियो सबैभन्दा पहिले संगम ह्याम्बा नामकै फेसबुक पेजबाट सार्वजनिक भएको थियो । पछि सबैले सोधीखोजी गरेपछि भने उनले भिडियो हटाएका थिए । कमजोर कानुनको फाइदा उठाएर अवोध पशुप्राणीमाथि जघन्य अत्यचार भइरहेको भन्दै पशु अधिकारकर्मीहरुले विरोध गरिरहेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077