काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ‘ह्याक’ को प्रयास भएको छ ।
बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक) ले उक्त पेजलाई हाल लक गरिदिएको छ ।
रास्वपा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सभापति लामिछानेको पेजमा आज बिहानैदेखि पटक–पटक बाह्य पहुँच बनाउने प्रयास भएपछि पेज पूर्णरूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने जानकारी गराएको हो ।
सचिवालयका अनुसार पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन्।
फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सचिवालयले स्पष्ट पारेको छ ।
यस्तै आम सर्वसाधारण तथा शुभचिन्तकहरूलाई सचेत गराउँदै उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिंकहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि सचिवालयले आग्रह गरेको छ ।