काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको दाबी गरेका छन्।
सोमबार झापा निर्वाचन क्षेत्र नम्बर–५ का मतदाताहरूसँगको कुराकानीमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताएका हुन् ।
ओलीले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्सामा राखेर बलियो दाबी गरिएको उल्लेख गरे।
ओलीले भने- 'हाम्रो भूमि अरूको नक्शामा हुने अवस्था थियो, हामीले वार्ता गर्ने ठाउँ पनि थिएन । हाम्रो भूमि अरुको नक्शामा हुने, हाम्रो नक्शामा नहुने अवस्था थियो । हामीले मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो नक्सामा राख्यौँ । विश्वसँग जोडिने, समुन्द्रसँग जोडिने बाटो चीनतिरबाट पनि खुल्यो । नेकपा एमाले काम गर्ने पार्टी हो ।'
उत्तरतर्फ चीनसँगका नाकाहरू खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरेको र नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको ओलीको जिकिर छ।
आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा प्रवेश गराएको दाबी गरे। उनले मेची–महाकाली राजमार्ग चौडा गर्ने कार्य, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको शुरुवात आफ्नै पहलमा भएको बताए।
ओलीले दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वको स्तरमा पुगेको उल्लेख गरे।