सबै भन्दा पहिला यो सत्यलाई मनन गरौँ कि भाद्र २३ गतेका दिन नेपालको राजधानी काठमाडौंको सडकमा त्यति धेरै युवाहरू मारिनु अत्यन्त दुखद र हृदय विदारक घटना थियो ।
शान्तिपूर्ण प्रदर्शन मार्फत भ्रष्टाचार अन्त्य गराउन भूमिका खेल्छु भन्दै सडकमा आउँदा गोली लागि ढलेर सहादत प्राप्त गर्ने नव युवाहरू नेपालको इतिहासले सदैव सम्मान सहित सम्झनु पर्ने सहिदहरू हुन् ।
उहाँहरूको सम्पूर्ण परिवारजन प्रति नेपाल र नेपाली सदैव ऋणी छ र त्यो ऋण सम्पूर्ण रूपमा चुक्ता गर्नु सम्भव त छैन तर उहाँहरूले शोक बोकेर यो देशलाइ गरेको योगदानलाई स्मरण गर्नु र सम्मान गरिरहनु सबै नेपालीहरूको (स्वदेश तथा विदेशमा बस्ने नेपालीहरूको दायित्व) हो ।
अनि त्यसै दिन साहदत प्राप्त गर्ने वा त्यस दिन गोली लागेर उपचार गराउँदा गराउँदै पछि साहदत प्राप्त गरेका ती महान् सहिदहरूलाई सम्झेर मात्रै हुँदैन ।
उनीहरूको चाहना र योजना भन्दा विपरीत प्रदर्शन हिंस्रक हुने अवस्था कसरी बन्यो ? उनीहरूले राम्रो, विकसित , सुसंस्कृत र सम्वृद्ध बनाउन खोजको देश अबको कैयौँ दशक सम्म उठ्न नै नसक्ने गरी कसरी जल्न पुग्यो ?
अनि किन र के कारण सडकमा रगत बगाउन बाध्य जेनजीहरू स्वयम चाहिँ सडकमै रहने तर उनीहरूको नाम बेचेर अरू अरू चाहिँ क्षेणीक सत्ता भोग देखि दीर्घकालीन सत्ताको दावेदारी गर्ने तहमा पुगे ?
यी र यस्तै प्रश्नहरूको उत्तर नेपाललाई साँचो अर्थमा सम्वृद्ध अनि नेपाली सुखी (बोली र नारामा हैन व्यवहारमा) देख्न चाहने सम्पूर्ण निःस्वार्थी नेपालीहरूले जेन जी सहिद परिवार, घाइतेहरू र आन्दोलनमा सहभागी असली जेनजीहरू सँग मिलेर खोज्नु पर्ने हुन्छ ।
त्यसो गर्नु अगाडी सबैले निम्न तथ्यहरू लाई मनन गर्न नै पर्छ :
१. असली जेन जीहरूको सोच, योजना वा तयारी सुरक्षाकर्मीको व्यारीकेड तोड्ने थिएन तर त्यो तोड्ने अवस्था सृजना गराइयो र त्यो असली जेन जीहरूको चाहना विपरीत गराइयो । त्यो अवस्था कसले कति बेला के गरेर गरायो त्यसको अध्ययन हुनुपर्छ,
२. जेन जी पुस्ताका युवाहरूको चाहना संसद् भवन तोड्ने त के रुख बिरुवा भाँच्ने पनि थिएन तर संसद् भवनमा सुनियोजित तवरले बोकेर लगिएका औजार प्रयोग गर्दै आक्रमण भएको देखिन्छ, त्यसो गर्नेहरू को थिए ? तिनीहरू कसको इशारामा औजार बोकेर त्यहाँ पुगे त्यो खोज्न नै पर्छ,
३. यसमा दुई मत छैन भाद्र २३ गते संसद् भवन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अनुचित, गैर कानुनी र मानव अधिकारको उल्लङ्घन ठहर हुने ढंगले बल प्रयोग गरेको हुन र त्यसो गर्ने र गराउने जोसुकै हुन तीनलाई दण्ड दिनुपर्छ ।
तर यसो भन्दै गर्दा पनि कुनै समय त्यहीँ प्रदर्शनकारीहरू सँग हात जोडेर शान्तिको भिक माग्दै रहेको प्रहरी माथि प्रहार गर्दै भिडन्त निम्त्याउने गैर जेन जी को थिए र तिनको मक्सद के थियो त्यो पनि खोज्न नै पर्छ,
४. अनि भाद्र २३ गतेको नरसंहारले विक्षिप्त भएर असली जेनजी आन्दोलनकारी (आफ्नो स्वार्थले आफूलाई जेनजी अगुवा भन्दै हिडने कथितहरू हैन है) र सहिदका परिवार शोकमा डुबेको बेला आफैँ प्रतिवाद र प्रतिकारको सर्जक बनेर देशको धरोहर जलाउने र त्यसो गर्दै गरेको तस्बिर र भिडिओ हालेर फलोर्स बढाउन तल्लीन भएका आतङ्ककारी जल्लादहरू को थिए रु तिनीहरूले देशको स्वाधीनताको प्रमाण भएको सिंहदरबारदेखि अनेकन् मुद्दाको मिसिल भएको अदालत किन र कसको हितको लागि जलाए त्यो पनि खोजिनु पर्छ
५. जेनजी युवाहरूको आलो रगतले सडक भिजिरहेको समयमा न्यायिक प्रक्रिया अनुसार थुनामा रहेका कुनै दलका सभापति के कति कारण जेल बाट आफू पनि भाग्ने र देशभरको जेल खालि गर्ने अभियानमा लागे ? जेनजी युवाको आलो रगत माथि सानदार मोटरमा माला लगाएर विजय उत्सव मनाउनेहरूले के आफ्नो कुत्सित लक्ष्य पुरा भएको खुसीयाली मनाइ रहेका थिए वा अरू नै केही ? यस्ता सवालको जवाफ पनि खोजिनु पर्छ,
६. जेनजी युवाहरूको आन्दोलनको मुखमा वक्तव्य निकालेर आफू त्यस उमेर समूहको नभएकोले प्रदर्शनमा सहभागी हुन नसक्ने तर जेन जीका कुरा आफू पनि सुन्ने अरूले पनि सुन्नु पर्ने भन्ने पात्रले जेनजीको नरसंहार र देश जलेर खरानी भएको अवस्थामा चाहिँ संसद् विगठन नभई नहुने अडान, लोकतान्त्रिक संस्थाहरूको समाप्ति गराउँदै सेनालाई सक्रिय पार्ने कामको अगुवाइ के कति कारणले गरे ? त्यो उनले आफ्नो विवेकहीनताको कारणले मात्रै गरे वा कोही कसैको इशारामा गरे ? त्यसको खोजी हुनुपर्छ,
७. अनि जेनजी युवाहरूले उठान गरेको भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको मुद्दा राज्यलाई थप व्ययभार नपारीकन सम्बोधन गर्न सक्ने जन निर्वाचित संसद् विगठन गराएर जेनजीका असली र प्रारम्भिक माग पुरा गर्ने तर्फ केही नगरी संसद्को चुनाव गर्ने एकल म्यान्डेट सहित सरकार बन्ने अवस्था कसरी बन्यो वा बनाइयो ?
त्यसो गरेर असली जेनजीका असली माग कहिले सम्बोधन हुनै नसक्ने र हुँदै नहुने अवस्था किन र कसका लागि निर्माण गरियो ? अतः उल्लेखित विषयहरूको मनन र सवालहरूको उत्तर नखोजीकन जेन जी सहिदहरूलाई पूर्ण न्याय पनि हुन सक्दैन र उनीहरूको सपना पनि पुरा हुन सक्दैन ।
कोही कसैलाई दानवीकरण गर्ने र कोही कसैलाई देवत्व प्रदान गर्ने कामले पूर्ण न्याय हुन सक्दैन । त्यसैले सबै भन्दा पहिला आफूले आफैँलाई सवाल गरौँ र आफ्नो इमानदार सवालको उत्तर आफैँले खोजौँ र जेनजी सहिदलाई न्याय र उनीहरूको सपना पुरा गर्ने अभियान अगाडी बढाऔँ ।